काठमाडौं – ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ।
महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको प्रतियोगिता ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित सञ्चालन गरिनेछ। खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने र नागरिक–सैनिक सम्बन्ध प्रगाढ गर्ने उद्देश्यसहित सन् २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौँ संस्करण हो।
प्रतियोगितामा म्याराथन (४२.१९५ कि.मि.), हाफ म्याराथन (२१ कि.मि.), १० कि.मि. दौड, ५ कि.मि. वाकाथन र ५ कि.मि. दौड समावेश छन्। म्याराथन विधा पुरुष खुला मात्र रहनेछ भने हाफ म्याराथन महिला तथा पुरुष दुवैका लागि खुला हुनेछ।

१० कि.मि. दौडमा सैनिक अधिकृत, सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत कर्मचारी, सैनिक महाविद्यालय तथा अवकाशप्राप्त/सेवारत सैनिकका कक्षा १०–१२ मा अध्ययनरत छोरा–छोरी तथा गैरसैनिकका कक्षा १०–१२ मा अध्ययनरत छोरा–छोरी सहभागी हुन पाउनेछन्।
५ कि.मि. वाकाथनमा प्रमुख अतिथि तथा आमन्त्रित विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् भने ५ कि.मि. दौडमा सैनिक महाविद्यालयका कक्षा ७–९ मा अध्ययनरत छात्र–छात्रा सहभागी हुनेछन्।
आयोजकका अनुसार प्रतियोगितामा करिब २ हजार ५ सय जनाको सहभागिता रहनेछ। जसमा म्याराथनतर्फ २५०, हाफ म्याराथन ६००, १० कि.मि. दौड ८००, ५ कि.मि. वाकाथन ४५०, ५ कि.मि. दौड १०० तथा अफिसियल ३०० जना रहनेछन्।

खेलाडी दर्ता माघ ११ देखि १८ गतेसम्म निःशुल्क रूपमा हुनेछ। दर्ता अनलाइन उपलब्ध भए पनि फाराम भरेर स्वयं उपस्थित भई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सहभागी खेलाडी तथा पाहुनालाई टिसर्ट र प्याक लन्च उपलब्ध गराइनेछ।
म्याराथन धावकहरूको माघ २३ गते स्वास्थ्य परीक्षण गरिनेछ भने प्रतियोगिताका क्रममा दक्ष मेडिकल जनशक्ति, एम्बुलेन्स, स्कटिङ मोटरसाइकल, बस तथा सुरक्षा व्यवस्था मिलाइनेछ। प्रत्येक २.५ किलोमिटरमा चेकपोइन्ट, वाटरपोइन्ट तथा स्पोन्जिङ पोइन्टको व्यवस्था गरिएको छ।
नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजंग राणाले प्रतियोगिता खुला भएकाले स्वदेशी तथा विदेशी खेलाडीले सहभागिता जनाउन सक्ने जानकारी दिए। समय अभावका कारण यस वर्ष विदेशी खेलाडीलाई व्यवस्थित रूपमा समावेश गर्न नसकिएको उल्लेख गर्दै आगामी संस्करणमा यसलाई कार्यान्वयन गरिने बताए।

नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले प्रधानसेनापति खुला म्याराथनले नेपाली एथ्लेटिक्सको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको धारणा व्यक्त गरे।
म्याराथन (४२.१९५ कि.मि.) पुरुष खुला विधामा प्रथम हुनेलाई नगद ३ लाख, द्वितीयलाई २ लाख र तृतीयलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। दशौँ स्थानसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ।
हाफ म्याराथन (२१ कि.मि.) महिला तथा पुरुष खुला विधामा दुवै वर्गका प्रथमले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
१० कि.मि. दौड तथा ५ कि.मि. दौडतर्फ प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
यसका अतिरिक्त विशेष पुरस्कारअन्तर्गत ४२.१९५ कि.मि. म्याराथन पुरुष प्रथमलाई एक थान मोटरसाइकल, २१ कि.मि. हाफ म्याराथन पुरुष प्रथमलाई मोटरसाइकल तथा महिला प्रथमलाई स्कुटर प्रदान गरिनेछ।
