काठमाडौँ- नेपालमा एक हप्तामै कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ। गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज त्यो संख्या ७ सय ७२ पुगेको छ।
आज मात्र स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएको पुष्टि गरेको हो। हिजो ७८ जना संक्रमित थपिएका थिए।
नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा संक्रमण पुष्टि भएको थियो। चीनबाट आएका ती युवकको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो।
पछिल्लो समय भने भारतबाट आएकाहरूमा संक्रमण बढी देखिएको छ। अहिले पनि अधिकांश संक्रमितहरू भारतबाट आएको पाइएको छ।
भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमित संख्या बढी छ।
नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। संक्रमणबाट निको हुनेको संख्या १ सय ५५ छ।
