काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति अशोक राज सिग्देलले गर्नुभएको हो।
सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दै गएको साइबर चुनौती, डाटा चुहावट तथा कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विभिन्न सरोकारवाला निकायबीच सहकार्य, समन्वय र सम्पर्क सुदृढ गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

गोष्ठीमा साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूले विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए भने सहभागीहरूबीच समसामयिक साइबर चुनौती र सम्भावित जोखिमका अवस्थाबारे अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो।
कार्यक्रममा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उक्त गोष्ठीले राष्ट्रिय स्तरमा साइबर सुरक्षासम्बन्धी रणनीति निर्माण, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा विकास तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।
