काठमाडौं— चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरले कागजमा ‘हेल्प’ लेखेर फ्याँकेको चिर्कटोका आधारमा प्रहरीले उनलाई काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न पाँच भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार आइतबार चितवनबाट अपहरण गरिएका ती किशोरलाई अपहरणकारीहरूले काठमाडौंको नयाँबजारस्थित एक होटलमा राखेका थिए। अपहरणकारीको निगरानीबीच किशोरले आफ्नो ज्यान बचाउन कागजमा ‘हेल्प’ लेखेर होटल नजिकैको चउरमा फ्याँकेका थिए।
उक्त चिर्कटो एक सर्वसाधारणले फेला पारी प्रहरीलाई जानकारी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो। चिर्कटोमा किशोरले आफ्नो नाम, बाबुको नाम, घर ठेगाना र ‘किडन्याप्ड’ भएको उल्लेख गर्दै प्रहरीलाई खबर गर्न अनुरोध गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्राप्त सूचनाको आधारमा गरिएको खोजीका क्रममा सोमबार नयाँबजारस्थित होटलबाट किशोरको सकुशल उद्धार गरिएको हो।
अनुसन्धानका क्रममा अपहरणकारीहरूले किशोरका बुबासँग सम्पर्क गरी २२ लाख रुपैयाँ फिरौती मागेको खुलेको छ। परिवारले प्रारम्भमा प्रहरीलाई जानकारी नगराए पनि पछि प्रहरीसँग समन्वय गरेको जनाइएको छ। होटलमा किशोरमाथि कुटपिटसमेत गरिएको र ज्यान मार्ने धम्की दिइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारतका नागरिक सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरिएको छ। उनीहरू सबै १८ वर्षका रहेका छन्। यस प्रकरणमा चितवनबाट पनि एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अपहरित किशोर र मुख्य आरोपित सुजित कुमार पहिले साथी थिए। विद्यालय छाडेपछि सम्पर्कविहीन भएका सुजितले इन्स्टाग्राममार्फत पुनः सम्पर्क गरी भेट्न बोलाएका थिए। भेटका क्रममा किशोरलाई चितवनकै एक होटलमा लगिएको र त्यसपछि भारतीय नम्बर प्लेटको गाडीमा राखेर काठमाडौं ल्याइएको अनुसन्धानबाट खुलेको छ।
चितवन प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त समन्वयमा सञ्चालन गरिएको उद्धार अभियान सफल भएको प्रहरीले जनाएको छ। अपहरित किशोरको परिवार सुनका गहना बनाउने व्यवसायमा संलग्न रहेको बताइएको छ।
