रामेछाप – प्रजातान्त्रिक योद्धा एवं नेपाली कांग्रेसका नेता रुद्र प्रसाद ढुंगेलको निधनप्रती कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले दु:ख व्यक्त गर्नुभएको छ । कोइराला स्वर्गीय ढुंगेलको १० औं पुण्य तिथिका दिन कलङ्की स्थित हिन्दु परम्परा अनुसार काजकिरिया भइरहेको स्थानमा पुगि श्रीमती तारादेवी ढुंगेल र छोरा दिपक ढुंगेल लगाएत परिवारलाई भेटी दुख व्यक्त गर्नुभएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।
कोइरालाले स्वर्गीय ढुंगेल आफ्नो पिता बीपी कोइरालाको अत्यन्तै विश्वास पात्र र एक असल अनुयायी हुनुभएकाले उहाँको निधनबाट आफुले परिवारको एक प्रिय सदस्यलाई गुमाएको अनुभुती भएको बताउनुभयो । कोइरालाले भन्नुभयो “लोकतन्त्र र कांग्रेसलाई मजबुत बनाउन उहाँको ठूलो योगदान छ । उहाँलाई र उहाँको परिवारलाई कांग्रेसले सदैव सम्झिरहनेछ । यो दु:खको घडीमा सिङ्गो नेपाली कांग्रेस परिवारको साथमा छ” ।
महामन्त्री कोइराला संगै नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , बीपी प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्का , नेता घननारायण श्रेष्ठ “घनश्याम” लगाएत पुगेका थिए । साथै बीपी कोइराला प्रतिष्ठानले ढुंगेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणिय क्षति पुगेको भन्दै परिवारजनमा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको थियो ।