धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतामा धानबालीको महत्त्व र धानको उत्पादकत्व वृद्धि जस्ता विषय राष्ट्रको नीति, कार्यक्रम, अनुसन्धान तथा छलफलमा प्राथमिकतामा आइरहेकै हुन्छन । आज भने धान खेतीसँग जोडिएको वातावरणीय प्रभाव बारे चर्चा गरौँ ।

जलवायु परिवर्तन एक विश्वव्यापी एजेण्डाको विषय हो । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सबै क्षेत्रहरुमा परेपनि कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । जलवायु परिवर्तनबाट सिर्जित चरम मौसमी घटनाहरुले बढ्दो तापक्रम, अनियमित वर्षा, खडेरी तथा रोग र किराको बढ्दो प्रकोप जस्ता असर निम्त्याई कृषि उत्पादकत्वमा ह्रास ल्याएका छन् जसका कारण खाद्य असुरक्षा बढिरहेको छ ।

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले प्रकाशित गरेको एक रिपोर्टका अनुसार जलवायु परिवर्तनले बाली, पशुपालन र माछापालनलाई जोड्दा १० प्रतिशत देखि ३० प्रतिशत सम्म उत्पादन घाटा निम्त्याएको पाइएको छ । यी तिन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत हिस्सा ओगट्छन् । एसियाली विकास बैंक (एडिबी) का अनुसार जलवायु परिवर्तनका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा सन् २०५० मा वार्षिक २.२ प्रतिशत नोक्सानी तथा सन् २१०० मा ९.९ प्रतिशत नोक्सानी हुने अनुमान गरिएको छ । त्यसकारण जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रतिकूल असरले सिंगो अर्थतन्त्रनै प्रभावित हुनेमा आशंका छैन ।

इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) का अनुसार जलवायु परिवर्तनको मुख्य कारक तत्व मानवीय क्रियाकलापबाट उत्सर्जित हरितगृह ग्याँसहरू हुन् जसमा मुख्यतः कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड पर्छन् जसमध्ये कृषि क्षेत्रबाट उत्सर्जन हुने मिथेन र नाइट्रस अक्साइडमा अझ बढी भूमण्डलीय उष्मीकरण क्षमता (ग्लोबल वार्मिंग पोटेन्सिअल) हुन्छ ।

नेपालमा करिब १४ लाख हेक्टर तथा विश्वभरमा करिब डेढ सय मिलियन हेक्टर क्षेत्रफलमा खेती गरिने धान नेपालको मात्र नभई विश्वकै प्रमुख बाली मध्ये एक हो । विश्वको खाद्य सुरक्षामा विशेष टेवा पुर्‍याइरहेको धान बालीले भूमण्डलीय उष्मीकरणका कारक मिथेन तथा नाइट्रस अक्साइड ग्याँसहरू उत्सर्जन गरि जलवायु परिवर्तनलाई पनि उत्तिकै बढावा दिइरहेको छ । स्प्रिंगरले प्रकाशित गरेको एक जर्नलमा अनुसन्धानकर्ता भ्यान न्गुयेन र फेरेरोले उल्लेख गरे अनुसार धान खेतबाट वार्षिक ६.१५ मिलियन टन मिथेन ग्याँस उत्सर्जन हुन्छ, जुन विश्वभरमा हुने कुल मिथेन उत्सर्जनको १७.९ प्रतिशत हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को एक अनुसन्धानमा नेपालमा हरेक मौसममा धान खेतबाट मात्रै मिथेन उत्सर्जन ४९ केजी प्रति हेक्टर सम्म हुने गरेको देखिएको छ । त्यसैगरी चीनमा गरिएको एक अध्ययनमा हरेक मौसममा बिउ/विरुवा रोपेदेखि बाली काट्ने बेलासम्ममा अधिकतम १५५ ग्राम प्रति वर्ग मिटर तथा प्रतिदिन औसत १.४१ ग्राम प्रति वर्ग मिटर मिथेन उत्सर्जन भएको पाइएको छ ।

नेपालमा डुबान विधिबाट अर्थात् खेतलाई जलमग्न बनाएर धान खेती गर्ने चलन छ । खेतलाई डुबान अवस्थामा राख्दा माटोका छिद्रहरूमा रहेको हावा पानीले विस्थापित गर्छ, जसका कारण माटोमा अक्सिजनको मात्रा निकै कम हुन्छ । अक्सिजनको अभावमा माटोमा रहेका मिथेन उत्पादन गर्ने आर्किया अथवा मिथ्यानोजिनहरु सक्रिय भई जैविक पदार्थहरू विघटन गर्न थाल्छन् जुन प्रक्रियाबाट मिथेन ग्याँस उत्पादन हुन्छ । यसरी उत्पादित मिथेनको ९० प्रतिशत धानको बोटमा रहेका वायु सञ्चार गर्ने एरेनकाइमा तन्तुहरू मार्फत जरा, डाँठ र पात हुँदै वायुमण्डलमा उत्सर्जित हुन्छ भने बाँकी १० प्रतिशत डीफ्युजन तथा इबुलिसन प्रक्रिया मार्फत वायुमण्डलमा पुग्छ । यसरी डुबान अवस्थामा गरिने धान खेतीले मिथेन उत्सर्जन बढाउने अध्ययनले देखाएको छ ।

नाइट्रोजनयुक्त मल तथा जैविक पदार्थहरू विघटन हुँदा नाइट्रिफिकेसन र डिनाइट्रिफिकेसन जस्ता रासायनिक प्रक्रियाबाट गुज्रिन्छन् । माटोमा पर्याप्त अक्सिजन हुँदा सुक्ष्मजीवहरुले एमोनियमलाई नाइट्रेट र नाइट्राइटमा रुपान्तरण गर्छन्, जसलाई नाइट्रिफिकेसन भनिन्छ । जब खेतमा डुबान हुँदा माटोमा अक्सिजनको मात्रा घट्छ, तब सुक्ष्मजीवहरुले नाइट्रेटलाई नाइट्रोजन ग्याँसमा रुपान्तरण गर्छन् जसलाई डिनाइट्रिफिकेसन भनिन्छ । यो प्रक्रियामा उत्पन्न हुने नाइट्रस अक्साइड वायुमण्डलमा उत्सर्जित हुन्छ । विशेषगरी डुबान र सुक्खापनको अवस्था पटकपटक परिवर्तन हुने खेतहरूमा नाइट्रिफिकेसन र डिनाइट्रिफिकेसन दुवै प्रक्रिया सक्रिय हुने भएकाले नाइट्रस अक्साइड उत्सर्जन बढ्न सक्छ । त्यसैगरी छरुवा विधिबाट नाइट्रोजनयुक्त मलहरु प्रयोग गर्नाले नाइट्रस अक्साइड उत्सर्जन बढ्न जाने अध्ययनले देखाएको छ ।

यसरी धान खेतबाट उत्सर्जित मिथेन तथा नाइट्रस अक्साइड जस्ता हरितगृह ग्याँसहरुले सूर्यको इन्फ्रारेड विकिरणलाई अवशोषित गरिदिन्छन् जसको फलस्वरूप पृथ्वीको तापक्रम बढ्न जान्छ, जसलाई भूमण्डलीय उष्मीकरण भनिन्छ । यो नै जलवायु परिवर्तनको प्रमुख कारक हो जसले कृषि उत्पादन तथा उत्पादकत्वमा ह्रास ल्याई खाद्य असुरक्षा निम्त्याउँछ ।

धान खेतीबाट हुने हरितगृह ग्याँसहरुको उत्सर्जन न्यूनीकरण गर्न नियन्त्रित सिँचाइ गर्ने, नाइट्रोजन इन्हिबिटरहरुको प्रयोग गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग कम गर्ने, रासायनिक तथा प्राङ्गारिक मलहरूको मिश्रित प्रयोग गर्ने, संरक्षणमुखी खनजोत, असल कृषि अभ्यास तथा जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गर्ने जस्ता उपायहरु अपनाउन सकिन्छ । साथै धान खेतीमा एकपटक पानी निकास गर्ने (सिंगल ड्रेनेज) वा पटकपटक पानी निकास गर्ने (मल्टिपल ड्रेनेज) जस्ता जल व्यवस्थापन प्रविधिहरूले मिथेन तथा नाइट्रस अक्साइड उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउन सक्ने अध्ययनहरूले देखाएका छन् ।

यो असार १५ मा धान खेतीले पृथ्वीलाई पार्ने प्रतिकूल प्रभाव न्यूनीकरणका लागि हातेमालो गरौँ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको