काठमाडौं – महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।
द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तकको विमोचन त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनका सहसंस्थापक तथा अध्यक्ष डा. जया लुईंटेल, लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना शिवाकोटी, सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की लगायतले संयुक्त रूपमा गर्नुभयो ।
पुस्तकमा नेपालका महिला तथा महिलाभित्रका विविध समुदायका अनुभव, भोगाइ, संघर्ष र राजनीतिक तथा सामाजिक आन्दोलनमा उनीहरूले गरेको योगदान समेटिएको छ । पुस्तकमा २५ जना फेलो लेखकका अनुसन्धानात्मक आलेख समावेश छन् ।
आलेखहरूमा महिलाभित्रको विविधता, दलित तथा आदिवासी जनजाति समुदायका अपाङ्गता भएका महिलाले भोग्दै आएका बहुस्तरीय विभेद, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललगायत विषय उठाइएको छ ।
पुस्तकको समीक्षा गर्दै त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले पुस्तकले नेपाली महिला आन्दोलनका लागि महत्त्वपूर्ण सामग्री प्रस्तुत गरेको बताउनुभयो । उहाँले नेपाली समाजभित्रका वैकल्पिक विषय पहिचान गरी उठान गरिएको भन्दै पुस्तक महिला आन्दोलन र समाज अध्ययन गर्नेहरूका लागि सन्दर्भ सामग्री बन्ने बताउनुभयो ।

समाजशास्त्री डा. मीना पौडेलले एउटै वर्ग र उस्तै इतिहास लेखन भइरहेको सन्दर्भमा पुस्तकले इतिहास लेखनको वैकल्पिक यात्रा सुरु गरेको बताउनुभयो । परम्परागत अनुसन्धान विधिभन्दा महिलावादी अनुसन्धान विधि फरक रहेको उल्लेख गर्दै उहाँले यसमार्फत सामाजिक न्यायको लेखनलाई प्राथमिकता दिइएको बताउनुभयो ।
कार्यक्रममा युवा अधिवक्ता तथा अभियन्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पुस्तकले विविधता, पुस्तान्तरण र समावेशिताका सवाललाई महत्त्वका साथ उठाएको धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रा.डा. ढकालले पुस्तकमा उल्लेखित विषयहरूले समाजमा अझै बाहिर नआएका धेरै विषय पहिचान गर्न सहयोग गर्ने बताउनुभयो । महिलाका वास्तविक अनुभव र भोगाइलाई समेटेर त्यसको सैद्धान्तीकरण गर्नसमेत पुस्तक आधार बन्न सक्ने उहाँको भनाइ थियो ।
सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले पुस्तकको बाहिरी आवरणमा प्रयोग गरिएको औँठाछापले हरेक व्यक्तिको आफ्नै पहिचान हुने सन्देश दिएको बताउनुभयो ।
द स्टोरी किचेनकी अध्यक्ष डा. जया लुईंटेलले सन्धानले इतिहास लेखनको कामलाई अघि बढाउँदै नेपाली महिला तथा आमा–हजुरआमाका जीवनभोगाइ, संघर्ष र अनुभवबाट निर्माण भएको ज्ञानलाई प्राज्ञिक ज्ञानका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको बताउनुभयो । महिलाको योगदान र संघर्षलाई इतिहासको केन्द्रमा ल्याउने उद्देश्यले विश्वविद्यालयसँग सहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

द स्टोरी किचेनका कार्यक्रम तथा कार्यालय प्रमुख गार्डिका बज्राचार्यले नेपाली महिलाका वास्तविक भोगाइ तथा सामाजिक–राजनीतिक परिवर्तनमा उनीहरूको योगदान र भूमिकालाई औपचारिक इतिहासमा पर्याप्त स्थान नदिइएको बताउनुभयो । ती अनदेखा गरिएका भोगाइ, संघर्ष र ज्ञानलाई अभिलेखीकरण गर्दै पुस्तक सार्वजनिक गरिएको उहाँको भनाइ थियो ।
सन्धान द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो । द स्टोरी किचेनले सन् २०२२ देखि पत्रकार, लेखक तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि हरेक वर्ष ‘सन्धान फेलोसिप’ प्रदान गर्दै आएको छ । फेलोसिपअन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकका आलेख समेटिएको ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह–१’ सन् २०२४ मा प्रकाशित भइसकेको छ।
