काठमाडौं – स्वस्तिश्री स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल कप–२०२६ सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न १२ फुटबल एकेडेमीका २५ टोलीको सहभागिता रहेको थियो।
सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको प्रतिभा पहिचान, विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले युवा फुटबल प्रतिभाका लागि महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोहमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी अनिता बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सो अवसरमा बस्नेतले बालबालिकाले सानै उमेरदेखि आफ्नो फुटबल प्रतिभा विकास गर्ने अवसर पाउनु खुशीको विषय भएको बताउनुभयो। उहाँले स्वस्तिश्री स्पोर्ट्स एकेडेमीले प्रतियोगितामार्फत भविष्यका फुटबल खेलाडीलाई प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको भन्दै नेपाली फुटबलको भविष्य निर्माणमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

प्रतियोगिताअन्तर्गत यू–७ छात्रतर्फ काठमाडौं किकर्स प्रथम, द एक्सेलसियर्स द्वितीय र स्वस्तिश्री स्पोर्ट्स एकेडेमी तृतीय भए। द एक्सेलसियर्सका रिदम ओली उत्कृष्ट खेलाडी, काठमाडौं किकर्सका श्रीहान देवकोटा सर्वाधिक गोलकर्ता तथा स्वस्तिश्री स्पोर्ट्स एकेडेमीका कर्मा लामा उत्कृष्ट गोलरक्षक घोषित भए।
यू–८ छात्रतर्फ स्वस्तिश्री स्पोर्ट्स एकेडेमी प्रथम, गोल्स एफए द्वितीय र एपीएफ तृतीय भए। गोल्स एफएका एथन गुरुङ उत्कृष्ट खेलाडी, स्वस्तिश्रीका श्रीयांश गजुरेल सर्वाधिक गोलकर्ता तथा सोही एकेडेमीका आहान श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए।

त्यस्तै, यू–९ छात्रातर्फ स्वस्तिश्री स्पोर्ट्स एकेडेमी प्रथम, काठमाडौं किकर्स द्वितीय र स्वस्तिश्रीकै अर्को टोली तृतीय भयो। स्वस्तिश्रीकी स्नेहा मानन्धर उत्कृष्ट खेलाडी, काठमाडौं किकर्सकी शायना पाण्डे सर्वाधिक गोलकर्ता तथा स्वस्तिश्रीकी कश्यपी बानियाँ उत्कृष्ट गोलरक्षक घोषित भए।
प्रतियोगितामा उत्कृष्ट अनुशासन, खेल भावना र निष्पक्ष प्रतिस्पर्धा प्रदर्शन गरेको भन्दै लाइफ एकेडेमीलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो।
विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि अनिता बस्नेत, स्वस्तिश्री स्पोर्ट्स एकेडेमीकी प्रबन्ध निर्देशक मीना महर्जन र प्रधानाचार्य नेहा केसीले पदक तथा ट्रफी प्रदान गर्नुभयो।
आयोजकका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समान उमेर समूहका खेलाडीबीच खेल भावना र नियमको ज्ञान, मित्रता, सहकार्य, सम्मान तथा आपसी सद्भाव विकास गर्नसमेत सहयोग पुर्याएको छ।

