काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा दसैँअघि नै मैदानको सम्पूर्ण पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ।
गत संस्करणमा दर्शकले भोगेका शौचालयको अभाव, धुलो तथा प्रवेशद्वारमा हुने भिडभाडलगायतका व्यवस्थापकीय समस्यालाई ध्यानमा राख्दै यसपटक मैदानमा संरचनात्मक सुधार गरिएको क्यानले जनाएको छ।
सम्बन्धित मन्त्रालय तथा निकायसँगको समन्वयमा मैदान प्रवेश गर्ने बाटो र गेट व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको छ। दर्शकको अत्यधिक चापलाई मध्यनजर गर्दै नयाँ स्थान पहिचान गरी दर्शक क्षमता बढाउने प्रयाससमेत भइरहेको क्यानले जनाएको छ।
दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउन आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको सचिव खड्काले बताए।
आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने एनपीएलको तेस्रो संस्करण दसैँ र तिहारको बीचमा परेको भए पनि दर्शकको उत्साहमा कमी नआउने क्यानको विश्वास छ।
अन्तर्राष्ट्रिय क्रिकेटको तालिका तथा चर्चित विदेशी खेलाडीहरूको उपलब्धतालगायतका पक्षलाई ध्यानमा राखेर प्रतियोगिताको मिति तय गरिएको सचिव खड्काले बताए। यसपटक सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीहरू अनुबन्ध गरिरहेकाले प्रतियोगिताका खेल हेर्न मैदानमा दर्शकको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ।



