काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कला, मनोरञ्जन तथा फेसन क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न सांगीतिक तथा हास्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन गरी तीन विशेष सिक्वेन्समा र्याम्प वाक गरेका थिए।
ब्राइडल सिक्वेन्समा प्रतियोगीहरूले परम्परागत दुलही पहिरनमार्फत नेपाली संस्कृति र सौन्दर्य प्रस्तुत गरेका थिए। निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्डलाई फेसनसँग जोडिएको थियो भने गाउन सिक्वेन्समा प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए। गाउन सिक्वेन्सको कोरियोग्राफी निशा बराइलीले गरेकी थिइन्।
आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार ‘द ग्ल्याम नाइट’ प्रतियोगीहरूको प्रतिभा, शैली र प्रस्तुति क्षमता प्रदर्शन गर्ने विशेष अवसर हो। अर्की आयोजक शिला बास्तोलाले यस कार्यक्रमले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासमा प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिन्।
रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको ‘मिसेज नेपाल वर्ल्ड’ विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।

