काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए।
बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष (चीफ अफ द जनरल स्टाफ) जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए।

त्यसैगरी, वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गरेका थिए। उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई उनले प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गरेका थिए।
नेपाली सेनाका अनुसार प्रधान सेनापतिको यस भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि कायम रहेको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
