राप्रपाका नेताहरूले ज्ञानेन्द्रलाई भने- सरकार एउटै राप्रपा बनाउनुपर्‍यो !

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् ।

राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्यद्वय भास्कर भद्रा र प्रह्लाद शाह, राप्रपा प्रजातान्त्रिकबाट महामन्त्री राजाराम श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय सुरेश आचार्य र सगुन लावती, राप्रपा राष्ट्रवादीका नेताहरू केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुषमा आचार्य छलफलमा सहभागी थिए ।

आइतबार साँझ झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा पूर्वराजा शाहले तीनवटा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि आफ्नै स्वामित्वको उक्त चिया बगानमा रहेका शाहले अपराह्न ४ साँझ ७ बजेसम्म लन्चसहित छलफल गरेका थिए । मुलुकको समसामयिक विषयमा छलफल भएको सहभागी नेता केशव श्रेष्ठले बताए । ‘सरकारले हामीसँग लन्चसहित तीन घन्टा वर्तमान राजनीतिक अवस्था र बिग्रँदो परिस्थितिबारे छलफल गर्नुभयो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘जनताले संयुक्त नेपाल खोजेका छन्, श्री ५ महेन्द्रले सुरु गरेको संयुक्त नेपाल अभियानअनुसार मुलुक चल्यो भने समृद्धिका ढोका खुल्न सक्छन् भन्ने उहाँको मनसाय हामीले पायौँ ।’

पार्टी एकीकरण गर्न सुझाब
राप्रपामा देखिएको गुट र फुटले कसैको हित नभएको भन्दै पुनः एकीकरणमा जान पूर्वराजाले नेताहरूलाई सुझाएका थिए । ‘म तपाईंहरूका पार्टीको संरक्षक पनि होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाईंहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,’ पूर्वराजाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी राप्रपा केन्द्रीय सदस्य शाहले नयाँ पत्रिकासँग भने, ‘त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपार्इंहरू अगाडि बढ्दा उपयुक्त हुन्छ ।’ उनले राप्रपाका सबै समूह एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने बताएका थिए ।

अदृश्य रूपमा संरक्षकत्व दिन तयार छु : पूर्वराजा
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गर्दै आएका छन् । पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको तर्क उनीहरूको छ ।

चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो । ‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्‍यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’

तर, छलफलमा सहभागी राप्रपा राष्ट्रवादीका नेता श्रेष्ठलाई पूर्वराजाले राजनीतिमा आउने चाहना छलफलमा व्यक्त गर्नुभएको हो भनी सोध्दा उनले भने, ‘देश पार्टीले चलाउने हो, देश राम्रो होस् भन्ने चाहना मात्र उहाँको हो । राप्रपा एक भएर जाँदा उपयुक्त हुन्छ भन्नुभयो । उहाँ राजनीतिमा आउने भन्ने विषयमा कुरा भएन ।’

अझै केही दिन झापामै बस्ने
पूर्वराजा शाह अझै केही दिन झापामै रहनेछन् । ११ चैतमा विराटनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उनीनिकट स्रोतले बतायो । त्यसबाहेक उनले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरूसँग पनि राजनीतिक भेटवार्ता गरिरहेका छन् ।

निरन्तर राजनीतिक भेटघाटमा
शाहको राजनीतिक भेट यो पहिलो भने होइन । उनले यसअघि माघमा करिब १५ दिनजति नेपालगन्जमा रहँदा त्यहाँका पुराना राजावादी नेताहरूसँग पनि छलफल गरेका थिए । त्यतिखेर राप्रपा अध्यक्ष कमल थापालाई काठमाडौंबाट बोलाएर नेपालगन्जमै छलफल गरेका थिए । नेपालगन्जबाट सीधै भारत भ्रमणमा निस्किएका उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग पनि भेट गरेका थिए । उनीनिकट स्रोतले आदित्यनाथसँगको भेटमा ‘अब आफूले राजनीतिमा सहभागिता जनाउने या अदृश्य रहेर कुनै पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा सुझाब मागेको’ दाबी गर्छन् । तर, शाहले आफैँ पार्टीको नेतृत्व गर्ने या अदृश्य भूमिकामा रहेर राजनीतिक सक्रियता बढाउने भन्ने निश्चित गरिसकेका छैनन् ।

भेटमा सहभागी प्रह्लाद शाह भन्छन्–
हामी र सरकारबीच झापाको हिमालय चिया बगानमा आइतबार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म छलफल भयो । छलफलमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भयो । उहाँले छलफलमा ‘राप्रपामा देखिएको गुट र फुटले परिणाम राम्रो आएन ।

त्यो कसैको हितमा छैन । म पार्टीको संरक्षक पनि होइन, राजनीति गर्ने व्यक्ति पनि होइन । तर, शुभचिन्तकका हैसियतले जनतामा राम्रो म्यासेज गएन,’ भन्नुभयो । वर्तमान राजनीतिक परिस्थितिले मुलुकको अवस्था चिन्ताजनक स्थितिमा पुगेको उहाँको भनाइ थियो ।

राप्रपा मिलेर निर्वाचनमा होमिएको भए परिणाम अर्कै हुन्थ्यो भन्नुभयो । आमनागरिकका रूपमा मुलुकको अवस्थाबारे चिन्ता व्यक्त गरेको भाव बुझ्न सकिन्थ्यो ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको