काठमाडौँ – सरकारले समयमै रासायनिक मल आयात नगर्ने दुई ठेकेदार कम्पनीमाथि कारबाही गर्ने निर्णय गरेको छ।
कृषि सामग्री केन्द्र लिमिटेडले समयमै युरिया मल आयात नगर्ने शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारबाही गर्ने निर्णय गरेको हो। अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन्।
यी दुई कम्पनीले २५–२५ हजार टन युरिया मल ल्याउने ठेक्का पाएका थिए। कृषि सामग्री केन्द्रले ठेक्का रद्द गरेको छ, भने कार्यसम्पादन जमानत जफत गरिएको छ।
प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ । साथै ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ।
कम्पनीले धान बालीका मल ल्याउने गरी गत वैशाखमा ती दुई कम्पनीसँग सम्झौता गरेको थियो। तर, थपेको म्यादमा समेत मल नल्याएपछि कारबाही गरिएको जनाइएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आइतबार साँझ पत्रकार सम्मेलन गरी समयमै मल आपूर्ति नगरेपछि ती दुबै कम्पनीको बैंक ग्यारेन्टी रोक्का गरिएको बताए। उनका अनुसार कालो सूचीमा राख्नेलगायतका कारबाही अगाडि बढाइएको छ।
