नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको पत्नी तुलसा थापा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आएकी छन्। नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि आज निर्वाचन आयोगमा सनाखत गर्न तुलसा थापा पनि पुगेकी हुन्।
थापासहित माया ज्ञवाली, शारदा भट्ट र सोमप्रसाद पाण्डेको पनि सनाखत गराउने विषयमा आयोगमा छलफल भएको थियो। तर आयोगले उनीहरु चारजनाको नाम सनाखत गर्न अस्वीकार गरेपछि मावधको पार्टीमा ३० जना सांसदले मात्रै सनाखत गरेका छन्।
केन्द्रीय कमिटीमा माधवले करिब ३० प्रतिशत जुटाउन सफल हुँदा सांसदमा भने २० प्रतिशत पुर्याउन चुकेका हुन्। एकीकृत समाजवादीको पक्षमा दिल्लीमा उपचाररत झलनाथ खनालले पनि सनाखत गर्दा माधवको पार्टीमा ३० जना सांसदबाट मात्रै सनाखत सम्भव भएको हो।
आज निर्वाचन आयोगमा झलनाथ खनालसहित ३० जाना सांसद र ५५ जना केन्द्रीय सदस्यको सनखत भएको नेता मेटमणि चौधरीले बताए।
यसैबीच पत्नी तुलसा थापा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आएपनि एमाले उपाध्यक्ष वामदेव गौतम भने अझै पनि अनिर्णित छन्। उपाध्यक्ष गौतमले केही दिनअघि आफू नेकपा एमालेमै रहने बताएका थिए।
माधव नेपाल पक्षले आफ्नोसहित फोटो राखेर एकीकृत समाजवादीमा रहेको चर्चा गरेपछि गौतमले आफ्नो सचिवालयमार्फत यस्तो बताएका थिए। तर त्यसअघि उनले आफूलाई माधवकुमार नेपालले खोलेको पार्टीको पक्षमा उभ्याएका थिए।
नेपालतर्फको पार्टीमा गएर सरकारमा जाने योजना सफल नहुने भएपछि उनी ‘यु टर्न’ भएर एमालेतिरै रहेको बताएका थिए।तर उनी मंगलबार च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएनन्
माधव नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सहभागी भएको बैठकमा पनि उपस्थित नभएका गौतम केही दिनदेखि मौन छन्। तर उनले पत्नी तुलसालाई भने माधव नेपालतिर खुलाएका छन्। केही समयअघि ओलीसँग कुनै हालतमा नमिल्ने बताएका गौतम आफू भने कता खुल्ने अझै टुंगो गरिसकेका छैनन्।
२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता गौतम कुनै समूहमा नलागी एकता अभियानमा छन्।
