प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्क भएको बताएका छन्।
आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन्।
‘धारामा पानी नआउने तर बिल आइरहने समस्या के हो? यसबाट उपभोक्ताहरू दिक्दार छन्। त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनावद्ध रूपमा काम गर्नुस्’, उनले भने।
दाहालले मेलम्चीको पानी एक महिनामा सुन्दरीजल ल्याउने गरी काम भइरहेको बताए।
‘मेलम्चीको काम तीव्रतामा नै भइरहेको मैले बुझेको छु। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने योजनासहित २८ दिनको कम्प्याक्ट कार्ययोजनाअनुसार दुई सिफ्टमा काम भइरहेको छ’ प्रधानमन्त्रीले भने, ‘एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ।’
काठमाडौं उपत्यकामा अहिले दैनिक २५ करोड लिटरको खानेपानी माग रहेको उनले बताए। ‘हामीले मेलम्चीबाहेक अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुछ। अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको छ’, दाहालले भने।
बैठकमा खानेपानी मन्त्री महिन्द्र राय यादवले खानेपानी आयोजनाहरूमा संरचनागत सुधार जरूरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने बताए।
