काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्।
नेपाली सेनाले असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा शान्ति र समृद्धिको कामनासहित आयोजना गर्न लागेको फूलपाती बढाई समारोहको तयारीबारे प्रधान सेनापति सिग्देलले बुधबार अन्तिम निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित पेसागत प्रतियोगितामा सर्वोत्कृष्ट हुने फर्मेसन तथा युनिटहरूलाई पुरस्कार र कदरपत्र प्रदान गरेका छन्। त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको छ।
यसैगरी, मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति भएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने सैनिकहरूलाई प्रकृति संरक्षण पदकबाट सम्मानित गरिएको नेपाली सेनाले जनाएको छ।
अन्तिम निरीक्षण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सकलदर्जा, परिवारजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
तस्बिर: नेपाली सेना

