काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेल हेर्न क्रिकेटप्रेमी दर्शकको उल्लेख्य उपस्थिति रहेको छ। ड्रोनबाट कैद गरिएको दृश्यमा खेल हेर्न आएका दर्शकले भरिएको मैदान, प्यारापिट र प्रतियोगिताप्रति देखिएको उत्साहलाई देख्न सकिन्छ।
सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ विकेटको क्षतिमा ९.५ ओभरमा भेट्टायो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भइरहेको एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म चल्नेछ। प्रतियोगितामा विभिन्न फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।










