काठमाडौं – काठमाडौको बाँनेश्वर थापागाउँस्थीत कुञ्ज थिएटरमा डा. विप्लव ढकाल र बिनिता कार्की गुञ्जिएका छन् । आज काव्य मुशायरा परिवारले आयोजना गरेको गजल र कविता बाचनको सत्रौं श्रृंखलामा उनीहरु गुञ्जिएका हुन् ।
नयाँ पुस्ताका गजलकार बिनिता कार्की र करिव चार दशक देखि लेखन यात्रामा लाग्नु भएका पुराना पुस्ताका स्रष्टा डा. विप्लव ढकालले उपस्थित सवैको वाहवाही पाएका थिए । तीन चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रत्येक चरणमा ४ गजल र २ कविता वाचन गरिएको थियो ।
लामो समय नेपाली साहित्यमा लागेर गजल कविता एवम अन्य विधामा कलम चलाउदै आएका विप्लव ढकालले नया पुस्तालाई पुराना पुस्ताले प्रोत्साहन गर्नु पर्ने बताउदै बिनिताको गजल वाचनको प्रशंसा गरेका थिए । करिव एक दशकदेखि गजल लेखनमा लागेकी बिनिता कार्कीकोे २०६८ मा आगमन गजल संग्रह प्रकाशित भएको थियो भने २०७० मा प्रकाशित भएको २० गजलकारको २०-२० गजल समेटिएको गजल संग्रह कैफियतमा पनि उनका गजल समावेश छन् । बिनिताले विशेष गरि युवाहरुलाई तताउने खालको गजल वाचन गरेकी थिइन् ।
कुञ्ज थिएटर खचाखच भरिएको थियो उपस्थित सवैले विप्लव ढकालको कविता र बिनिता कार्कीको गजलको मुक्त कण्ठले प्रशंसा गरेका थिए । बिनिता कार्कीका दमदार गजल र विप्लव ढकालको वजनदार शव्दले भरिएका कविता हलमा गुञ्जायमान हुदा तालिको गड्गडाहट नै चलेको थियो । पछिल्लो समय गजल एवम कविताका पारखिको संख्या दिनप्रति दिन बढ्दै गएको छ । नयाँ पुस्तामा आकर्षण बढ्नु सामाजिक सञ्जालको प्रभावलाई समेत लिन सकिन्छ ।