काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दुवैलाई शान्तिपूर्ण समाधानको विकल्प रोज्न चेतावनी दिएको छ l
बुधवार साँझ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भोजपुरमा दुई जना मारिने गरी भएको घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन् l
‘काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटनापश्चात् आज दुई युवाको जीवन समाप्तीको घटनाले अब दुवै पक्षलाई दबाब दिएको हुनुपर्छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन l’
शर्माले विज्ञप्तिमार्फत विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेका छन् l उनले प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गर्दै शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष गम्भीर हुनुपर्ने बताएका हुन् l
संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्ता मार्फत विश्वासमा लिने कर्तव्य सरकारको भएको शर्माको जिकिर छ l हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक रहेको शर्माले बताए l
शर्माले सर्लाही घटनाको संसदीय समितिमार्फत छानबिन गर्न कांग्रेसले माग गरिरहेको पनि उल्लेख गरे l भोजपुर घटनाको पनि निष्पक्ष छानबिन हुनुपर्छ,’ शर्माले विज्ञप्तिमार्फत अपिल गरेका छन् l