आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको मद्दतमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।
कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । शिवम माभी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।
