काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । आजै नयाँ मन्त्रीहरुले सपथ ग्रहण गर्ने तयारी गरेका छन् । नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज दिउँसो सपथ ग्रहण गराउने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँलाई सिफारिस गरेको छ । माओवादी केन्द्रले पनि नयाँ मन्त्री पठाउनेबारे आवश्यक गृहकार्य सुरु गरेको छ । तर लिस्ट भने तयार भइसकेको छैन ।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको स्थानमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरीलाई सिफारिस गरेको छ ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको स्थानमा हीराचन्द्र केसीलाई सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूको नामावली आइतबार नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।
उता, जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा एकीकृत समाजवादीले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ ।
अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो ।
जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्। सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको बताइन्छ ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका थिए ।
देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्। शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए ।
देउवाले आइतबार मात्र सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नागरिकता विधेयक अघि बढाउने र लोसपाको माग सम्बोधन गर्ने विषयमा परामर्श लिइसकेका छन् । देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।
सबैजनाको सथप सोमबार शपथ हुने नेकपा एकीकृत समाजवादीबाट शहरी विकास मन्त्रीका लागि सिफारिसमा परेका नेता मेटमणि चौधरीले बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूलाई नियुक्ति गर्नेछन् ।
