नेकपा माओवादी केन्द्रले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ।
आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार संसदमा राजीनामा घोषणा गरेका छन्।
उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ। उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ।
माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताएका छन्।
‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने,‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए।
‘भरतमोहन अधिकारी र विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि छानबिन समिति बनेका थिए तर उहाँहरूले राजीनामा दिनुभएन,’ पुनले भने,‘रामशरण महतले भने छानबिन समिति बनेपछि राजीनामा दिनुभएको रैछ। निर्दोष प्रमाणित भएपछि उहाँ फेरि फर्किनुभयो।’
यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।
शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहनेछन्।
नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट दुई सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक/एक जना सदस्य गरी कूल ११ सदस्यीय संसदीय छानबिन गठन गर्ने सहमति भएको हो।
संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।
