काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणले बिदेशमा मृत्यु हुने नेपाली ७९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५२ जनाको मृत्यु भएको छ । पछिल्लो पटक शनिबार साँझ भूपू गोरखा कर्णबहादुर राईको निधन भएको हो ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।
