काठमाडौँः दिउँसोको खाजा खाएर कर्पोरेट टावर’को नवौँ तलास्थित अन्नपूर्ण पोस्ट् दैनिकको कार्यालयमा जानका लागि हामी लिफ्ट चढ्नुपूर्व लिफ्टमा आएको प्राविधिक समस्याका कारण केहीबेर हामी भुइँतलामै रोकियौं । लिफ्टभित्र पसेपछि मेरो मनमा ‘लामो समयसम्म लिफ्टभित्रै बन्द हुनुपरे कस्तो असहज हुँदो हो’ भन्ने चिसो पसेको थियो ।
खाजा खान जानुअघि लिफ्टमा नै मित्र शिवप्रसाद तिवारीसँग ‘जतिखेर जेपनि हुनसक्छ’ भन्दै मैले मृत्युको प्रसंगसमेत उप्काएको थिएँ। उनले मृत्युबारे निरन्तर चिन्तन गर्नु ठीक नभएको बताएका थिए। जीवन अनिश्चित भएकाले प्रत्येक पल खुसीपूर्वक जिउनुपर्छ भन्ने मेरो तर्क थियो।
हामी नवौं तलामा पुग्दा अनलाइनबाहेकको कार्यकक्ष खाली देखियो । भर्याङबाटै अन्नपूर्ण टावरका धेरैजसो कामकाजी व्यक्तिहरू हस्याङफस्याङ गर्दै छततर्फ उक्लिरहेका थिए । तीमध्ये कसैले भन्यो ‘त्रिभुवन विमानस्थलमा आगलागी भयो ।’
मलाई लाग्यो– सेनाले आगलागीसम्बन्धी कुनै ‘नक्कली अभ्यास’ ग-यो या सडक या कतिपय अवस्थामा सरकारी कार्यालयमा बेलाबेला मान्छेहरूले प्लास्टिक बालेजस्तै एयरपोर्टमा पनि कसैले फोहरको गुर्दुम बाले ! दुविधामा रहँदै पनि झोलाको क्यामरा हत्तपत्त लिएर छतमा पुगें ।
नभन्दै त्रिभुवन विमानस्थलको आकाशमा कालो धुवाकोँ बाक्लो मुस्लो छुटेको देखियो । मैले क्यामरा अन गरेँ, कुनै बेला क्याम्पसमा फोटोग्राफी पढाए पनि न म व्यावसायिक फोटोग्राफर थिएँ न भिडियोग्राफर । मैले आगलागीका मुस्लोका केही तस्वीर र भिडियो पनि खिचें । तर त्यतिखेरसम्म कुनै पनि स्रोतले विमानस्थलमा विमान दुर्घटना भएको जानकारी दिएको थिएन, विमानस्थलमा के भयो भनेर आधिकारिक रूपमा प्रयास लगाउने कोशिस गर्दैथियौं ।
तर पनि मैले आगोको मुस्लोलाई जुम गरिरहें । मुस्लोतर्फ जुम गर्दागर्दै दृश्यमा एक पुरुष देखिए, तिनको पोशाक हेर्दा ती उद्दारक या सुरक्षाकर्मीजस्ता देखिन्थेनन् । ती खोच्याउँदै विमानस्थलको धुवाँबाट भाग्दैजस्तो देखिए । उनी सुरक्षित स्थलतर्फ लाग्दैगर्दा उनको अघि केही मान्छेका टाउका पनि थपिए ।
तर भिडियोमा देखिएको धुँवाको बाक्लो मुस्लोबीच उनीहरू एकाएक दृश्यबाट हराए । यो सब खिच्दै गर्दा मेरो मनमा ती मान्छेहरूबारे कुनै चासो थिएन । तर क्यामराबाट भिडियो कम्प्युटरमा उतारेपछि मलाई लाग्यो– वास्तवमा उनीहरू कोको थिए ? ती कता हराए ? उद्धार भएका २५ मा त परे कि परेनन् ?
भिडियो हेर्नुहोस्