काठमाडौँ- नेपालमा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये एक सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ। धनुषाका ७ जना, झापाका एक जना, कपिलवस्तुका ७७ जना, ललितपुरकी एक जना, महोत्तरीका चार जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहाका ११ जनामा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए।
रूपन्देहीमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ। कपिलवस्तु यशोधराका २९ जना छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ। उनीहरू सप्तरीका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ। उनीहरू विजयनगर कपिलवस्तुका ३ जना, हापुरे दाङका एक जना देखिएका छन्।
नेपालमा थप आज १३ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २१९ पुगेको छ। त्यस्तै कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।