काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पनि शर्माको एकल उम्मेदवारी परेको पुष्टि गरेको छ।
कांग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गर्दै पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरेको हो। संशोधित विधानअनुसार यो पद सभापतिपछिको वरीयतामा रहने व्यवस्था गरिएको छ।
शर्माले मंगलबार वरिष्ठ उपसभापति पदका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए। उनको तर्फबाट पुष्पराज पौडेलले निर्वाचन समितिमा मनोनयनपत्र दर्ता गरेका थिए।
शर्मा यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए भने गत विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए।
