काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।
राष्ट्रिय सभाको रिक्त एक सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच आफ्नो विवाद रहेको भन्ने समाचार आइरहेको समयमा अध्यक्ष दाहालले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताउनुभएको हो । पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीका बीच दाहालले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे । बिहिबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने भएकाले यसलाई सबैले स्वीकार्नुपर्ने उनको भनाइ छ । बुधबारको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएकोमा त्यसलाई कार्यान्वयन नगर्ने ओलीले बताएपछि पार्टीभित्रको चर्को विवाद बाहिर आएको हो । प्रधानमन्त्री ओली भने वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहनुभएको छ । अध्यक्ष दाहालले एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइने जानकारी समेत दिए ।
