काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालयलाई ‘भाइबर ग्रुप’बाट सार्वजनिक हुँदै आएका भिडिओहरु बन्द गर्न निर्देशन दिएका छन्।
निजी निवास बूढानीलकण्ठमा शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सचिवालयले ‘मलाई शेरबहादुर मनपर्छ’शीर्षकमा जारी गर्दै आएका भिडिओ श्रृखंला बन्द गर्न निर्देशन दिइसकेको बताएका हुन्।
‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस्,’ केन्द्रीय सदस्य धनराज गुरुङले बैठकमा बोलिसकेपछि प्रधानमन्त्री देउवाले भने।
‘मलाई शेरबहादुर मनपर्छ भन्ने भिडिओ सन्दर्भ मैले उठाएपछि सभापतिज्यूले त्यो बन्द गर्न निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस् भन्ने जवाफ दिनुभयो,’ गुरुङले भने, ‘उहाँले बोलेका कुरा कार्यान्वयन हुने विश्वास लिएको छु।’
यसअघि उनले प्रधानमन्त्री देउवाको ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’मा सार्वजनिक गरिरहेका भिडिओप्रति आपत्ति जनाएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आई लभ यु’ भन्नेहरुले सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याएको टिप्पणी गर्दै गुरुङले प्रधानमन्त्रीलाई मलाई शेरबहादुर मनपर्छ’ भन्नेहरूबाट सजग हुन सचेत गराएका थिए।
‘आई लभ यु भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याए। सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरु भएछ,’ उनले बैठकमा भनेका थिए, भिडिओ देख्दा झसङ्ग भएँ। यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्।’
