नेपाली सेनाको टोलीले पहिलो पटक कञ्चनजंघा हिमालको आरोहण गरेको छ। सफा हिमाल अभियान २०२२को क्रममा कञ्चनजंघा हिमाल पुगेका मध्ये दुई जनाले हिमालको आरोहण गरेका हुन्।
उनीहरू पुगेसँगै नेपाली सेनाले पहिलोपटक त्यस हिमालमा पुगेर आफ्नो झन्डा फहराएको हो। नेपाली सेनाका सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले आरोहण गरेका थिए। उनीहरूले मे ७मा आरोहण गरेको नेपाली सेनाले जानकारी दिएको छ।
त्यस्तै अर्को टोलीले सगरमाथाको आरोहण पनि गरेको छ। नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले मे १२ मा आरोहण गरेका थिए। सोही दिन क्याप्टेन जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र कविराम घर्ती मगरले ल्होत्से हिमालको आरोहण गरेका थिए।

आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच सफा हिमाल अभियान २०२२को समापन गरिएको थियो। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उक्त अभियानको समापन गरेका हुन्।
नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो। सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो।
हिमाल सफा गर्न सेनाका ३० जना र ४८ जना शेर्पाको टोली खटिएको थियो। त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए। सगरमाथा लगायत हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो।जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो।
कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो। अझै केही फोहोरको व्यवस्थापन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले सगरमाथा-ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो।
नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो। दुइवटैको कानुनी प्रक्रिया अघि बढाएर व्यवस्थापन गरिएको सेनाले जनाएको छ। सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ। सेनाको टोलीले सन् २०१९ मा १० टन र २०२१मा २७ टन फोहोर संकलन गरेको थियो।
