ललितपुर – अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले पक्की घर ढलेको छ। घर ढल्दा मानवीय क्षति भने भएको छैन।
आइतबार दिउँसो करिब १ः४० बजे स्थानीय सुदीप थापाको घरसँगै ट्रस्टबाट बनाइएको किचन भिरालो जमिनबाट करिब २० मिटर तल खसेको थियो। किचन खसेपछि थापाको साढे दुई तले पक्की घरसमेत पहिरोको जोखिममा परेको थियो।
घर पहिरोको जोखिममा परेपछि प्रहरीले थापा र उनको परिवारलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएको थियो। प्रहरीको सुझावअनुसार थापाको तीन सदस्यीय परिवार आइतबार नै आफन्तको घरमा गएर बसेको थियो।
सोमबार बिहान करिब ६ः३५ बजे भिरालो जमिन भासिँदा थापाको घर एक्कासि ढल्न पुगेको ललितपुर प्रहरीले जनाएको छ। घर ढले पनि परिवारका सदस्यहरू सुरक्षित स्थानमा रहेकाले मानवीय क्षति हुन पाएन। घर ढलेपछि सोही स्थानमा रहेको सानो खोल्चासमेत थुनिएको प्रहरीले जनाएको छ। खोल्चा थुनिए पनि तत्काल जोखिमको अवस्था नरहेको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण जमिन गलेर भिरालो सतह कमजोर बनेपछि घर ढलेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

