काठमाडौं – महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले सिपाहीका मेस तत्काल सुधार गर्न मातहतका युनिटहरुलाई निर्देशन दिएका छन्। उपत्यकाका तीन जिल्ला र वृतका प्रमुखहरुलाई सोमबार रानीपोखरीमा बोलाएर पोखरेलले त्यस्तो निर्देशन दिएका हुन्।
मेट्रो प्रमुखका रुपमा सरुवा भएलगत्तै मातहतका प्रहरी अधिकारीले हप्तामा एक दिन सिपाहीसँग सुत्नुपर्ने र एक छाक सिपाहीको मेसमा खानु पर्ने निर्देशन दिएपछि पोखरेल चर्चामा छन्। उनले केही दिन अघि सिपाहीको मेसमा खाना खाएको विषयले चर्चा पाएको थियो।
सिपाहीको मेस फोहोर भएको, पर्याप्त भाँडाकुडा नभएको, खाना खान बस्ने ठाउँसमेत नभएकोलगायत गुनासो आएपछि मेट्रो प्रमुखले तत्काल यसलाई सुधार गर्न निर्देशन दिएको बैठकमा सहभागी एक प्रहरी अधिकारीले बताए।
‘सिपाहीका समस्या र गुनासालाई उहाँले प्राथमिकता दिनु भएको छ। यसैलाई सम्बोधन गर्न पहिलो चरणमा मेस सुधारको अभियान सुरु हुन लागेको हो’, बैठकमा सहभागी एक प्रहरी अधिकारीले भने।