पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।
पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिए ।
वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए ।
सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्चअनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताए । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ ।
यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरूले शीर्ष नेताहरूलाई भेटेका छन्।
विद्यार्थी संगठनका नेताहरूले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग प्रचण्ड र नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्वि तत्काल फिर्ता लिन र पेट्रोलियम पदार्थमा लगाइएको अनावश्यक कर मिनाहा गर्न आग्रह गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए।
संगठनहरूले उठाएको माग छिट्टै पूरा हुने आश्वासन आफूहरूले पाएको पनि पुनले बताए।
