रामेछाप – लकडाउनमा सबै आफ्नो घरमा सिमित भएको बेला रामेछापका एकजना समाजसेवीलाई भने चटारो छ । को विरामी परेको छ, ? कसलाई कुन अस्पतालसम्म लैजाने र अस्पतालबाट निस्केका विरामीलाई घरसम्म कसरी पु¥याउने ? उनलाई महिना दिनदेखि त्यसैको टन्टा छ ।
कान्छाराम तामाङ (पूर्णवहादुर ) ले जिल्लामा विरामी परेका सर्वसाधारणलाई अस्पतालसम्म पु¥याउनका लागि आफ्नो निजी खर्चमा १४ वटा एम्बुलेन्स वितरण गरेका थिए । तिनै एम्बुलेन्स मार्फत विरामीको सेवाका लागि लकडाउनमा उनी क्रियाशिल छन् । वितरण गरेका १४ मध्ये अहिले १३ वटा एम्बलेन्स रामेछाप जिल्लाका विभिन्न पालिकामा बेस रहेर संचालनमा छन् । एउटा मर्मतका लागि ग्यारेजमा छ । सबै एम्बुलेन्सले गरी लकडाउनका बेला शुक्रबारसम्म ( १९ गते ) रामेछापबाट १ सय ६ टिप काठमाडौंसम्म विरामी पु¥याएका छन् । त्यसको सबै खर्च कान्छारामले बेहोरीरहेका छन् । रामेछापबाट काठमाडौंसम्म सरदर एक टिप एम्बलेन्स गुडाउदा १० देखि १२ हजारसम्म खर्च आउछ । मन्थलीबाट केही सस्तो भएपनि दुर्गमबाट गुड्दा तेलमा धेरै खर्च लाग्ने गर्छ ।
लकडाउन लागेपछि कान्छारामले कोरोनाको महामारीमा आफ्नो योगदान के हुन सक्छ ? भन्ने कुरा सोचे । तुरुन्तै निष्कर्ष निस्कीयो – आफुले दिएका एम्बुलेन्स मार्फत विरामी काठमाडौं आउनु परेमा त्यसमा लाग्ने तेल, चालकको भत्ता र मर्मत खर्च आफैले वेहोर्ने । उनले उक्त कुराको सूचना जिल्लाका एफएम रेडियोमा दिए । आफ्नो र सहयोगीको फोन नम्बर सूचनामा प्रसारण गराए । अनि पैसाको पोको बोकेर काठमाडौंमा तैनाथी अवस्थामा बसे ।
जिल्लामा हालसम्म कोरोना भित्रीएको छैन । तर अरु रोगका विरामी बाक्लै छन् । स्थानीय स्तरमा उपचार हुन नसकेपछि काठमाडौं नै पुग्नुपर्ने बाध्यता रामेछापबासीलाई छ । त्यसमाथि दुर्घटनामा परेका छदैछन् । सूचना प्रकाशित गरेकै दिनदेखि कान्छारामको फोन वज्न थाल्यो । विरामी लिएर आएको एम्बुलेन्समा तेल हाल्नु पर्यो भनेर आउने फोन मात्र हैन, जिल्लाका विभिन्न भागबाट एम्बुलेन्स पठाउनका लागि पनि उनलाई फोन आउन थाल्यो ।
हरेक दिन जस्तो तेल र चालकको भत्ता दिन उनी एम्बुलेन्स भएको ठाउंमा पुग्छन् । अस्पतालबाट डिस्चार्ज भएका विरामीलाई घर पठाउनु परेमा खर्चपर्च सोध्छन् । विरामी फर्कदा पनि उनले पैसा नलिन भनेका छन् । दर्जनौ पटक उनले एम्बुलेन्सको मर्मत खर्च पनि बेहोरेका छन् । टायर बदलेका छन् । यस कार्यका लागि कान्छारामलाई कुनै निकायले सहयोग दिएको छैन । कुनै गैर सरकारी संस्थाको पैसा उनले परिचालन गरेका हैनन् । ‘मन हो’ कान्छाराम भन्छन् – मैले जिल्लाबासीलाई परेको बेलामा गर्ने हो , मैले आफ्नो कर्तव्य सम्झेर सहयोग गर्ने निधो गरेको हुं । म आफुले वोलेको कुरा जसरी पनि पुरा गरेर छोड्छु । १ सय ६ खेप हैन, लकडाउन हुन्जेल चाहे हजार टिपनै किन नहोस या दुईबर्षनै किन नहोस मैले सहयोग गर्छु कान्छारामले मनमा लागेको सामाजिक भावना पोखे । ‘मैले राजनिती हेरेर, भेग हेरेर, जात हेरेर सहयोग गरेको छैन ’ कान्छाराम भन्छन् – चाहे जो सुकै विरामी होस , त्यो रामेछापबासी मेरो बा आमा दाजु भाइ दिदी बहिनी हो भन्ने कुरा सम्झेर निश्वार्थ भावनाले सहयोग गर्छु ।
यसो भन्दै गर्दा कान्छारामले कसैले स्यावासी दिएका छैनन् । दिएको भए तिनै विरामी परेका र उनीहरुका आफन्तले दिएको आषिश । आफ्नो गोजिको पैसा हालेर १४ वटा एम्बुलेन्स दिएको मान्छेले अहिले लाखौं रुपैया बेहोरेर एम्बुलेन्स निशूल्क गुडाइरहेको देखेका जिल्लाका केहि नेताहरुले उनको उल्टै आलोचना गरेका छन् । कान्छाराम कागे्रसका नेता पनि हुन । उनि गएको प्रतिनिधिसभा सदस्यको प्रत्यासी थिए । अहिले पनि उनि राजनीतिमा उत्तिकै सक्रिय छन् । त्यहि भएर कांग्रेस इतरका शक्तिहरु उनको सामाजिक कामलाई राजनीतिको आंखाले हेर्ने गर्छन् । कान्छारामले निशूल्क एम्बुलेन्स दिदा होस या तेल हालेर नि:शुल्क एम्बुलेन्स गुडाउदा अरुको टाउको दुखेर आउछ । उनीहरु चुनावमा भोट तान्ने हो कि ? भनेर झस्कन्छन् र कान्छारामलाई स्यावास दिनुको साटो उल्टै झम्टन्छन् । कान्छारामले दिएको एम्बुलेन्समा मान्छे नबोक्दाको विकल्प भने विरोध गर्नेहरुसंग छैन । सरकारी स्वास्थ्य चौकीहरुमा दिएको एम्बुलेन्स थला बसेको बेला उनीहरुको झम्टाई बेर्थको छ ।
कान्छारामलाई भने कसैले स्यावासी भनिरहनु पर्दैन । कसैले आलोचना गरेपनि उनी बिच्किहाल्दैनन् । ‘यो मेरो सेवाको भावना हो , कसैलाई टाउको दुख्छ भने उनीहरुले पनि मेरो जस्तै काम गर्दा भैहाल्यो नि ’ कान्छाराम यसै भन्दिन्छन् ।
यति धेरै खर्च र टन्टाको पछाडि उनको एउटै स्वार्थ छ । आफ्ना बा आमा र उनको नाम । उनले दिएका हरेक एम्बुलेन्समा उनको पिताको नामबाट दर्ता भएको शेरवहादुर तामाङ स्मृति प्रतिष्ठानको नाम लेखिएको छ । अनि सौजन्यमा कान्छाराम तामाङको नाम छ । यहि नाम देखेर धेरैलाई फड्को लाग्छ । कान्छाराम भन्छन् – मैले जिल्लाबासीलाई दिएको सेवामा आफ्नो पहिचान त दिनु पर्यो नि ! मेरो अरु कुनै स्वार्थ छैन र हुदैन पनि ।
एम्बुलेन्स त सामान्य कुरा भयो । जिल्लामा दुर्घटना पर्दा या सिकिस्त विरामी जो एम्बुलेन्सबाट काठमाण्डौं पुर्याउँदा बचाउन सकिदैन भन्ने खवर सुन्नासाथ कान्छाराम हेलिकप्टर लिएर उद्धारका लागि पुग्छन् । विभिन्न दुर्घटना र सिकिस्त विरामीलाई कान्छारामले हेलिकप्टरबाट आफैले उद्धार गरेर ज्यान बचाएका छन् । भन्छन् – पैसाले पुगेको मान्छे मैले देखेको छैन, म गर्दै जान्छु भगवानले पुर्याउदै जान्छन् ।