काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ।
१२ गते बिहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।
विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो।
छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो।
त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो।
प्रमुख शाहको अध्यक्षतामा गठित समितिको सदस्यहरूमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष हरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली रहेका छन्।
