काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने भएका छन् । उनले नयाँ पार्टी बनाउनका लागि आवश्यक तयारीसमेत थालेका छन् ।
आफूनिकट नेताहरूसँग अनौपचारिक संवादमा रहेका थापाले स्थानीय निर्वाचनको सम्मुखमा नयाँ पार्टी बनाउने गरी छलफल अगाडि बढाएका हुन्।
पार्टी गठन गर्नुअघि थापा देश दौडाहामा निस्किने तयारीमा रहेको उनीनिकट एक नेताले बताए । राष्ट्रिय जागरण अभियान सुरु गर्ने तयारी भइरहेको र देशव्यापी सञ्चालन हुने अभियानले पार्टी निर्माणका लागि आधार तयार गर्ने थापानिकट नेता बसन्तमानसिंह अधिकारीले बताए ।
राप्रपाका पूर्वअध्यक्ष थापालाई पूर्वअध्यक्ष पशुपति शमशेर राणा र लोकेन्द्रबहादुर चन्दले साथ दिने बताइएको छ। पूर्वअध्यक्ष चन्दले औपचारिक रूपमा थापालाई साथ दिने बचन दिइसकेका छैनन्। तर, अधिकारीसहितका चन्दनिकट पुराना नेताहरूले थापालाई साथ दिन आग्रह गरिरहेका छन्।
राप्रपाको पदाधिकारीमा निर्वाचित ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, भुवन पाठक, रोशन कार्कीलगायतका नेताहरूले साथ दिने बताइएको छ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपासँग सम्बन्ध विच्छेदको तयारीमा रहेको थापाले लिङ्देनलाई दुई पटक पत्र लेखिसकेका छन्। २७ मंसिर र १३ माघमा थापाले पत्र लेखेर महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपमाथि छानबिन गर्न मान गरेका छन्।
दोस्रो पत्रमा आफूलाई योजनावद्ध रूपमा किनारा लगाउन खोजिएको आंशका पनि व्यक्त गरेका छन्। तर, अध्यक्ष लिङ्देनसँग थापा सम्पर्कमा आउन चाहेका छैनन्।
अध्यक्ष लिङ्देनले थापासँग सम्पर्क गर्दा उनी सम्पर्कमै आउन नचाहेको लिङ्देननिकट नेताहरूले दाबी गरेका छन्। थापानिकट प्यानलबाट महामन्त्रीमा निर्वाचित कुन्ती शाहीले पूर्वअध्यक्ष थापालाई विकल्प खोज्न नदिने प्रयास भइरहेको बताइन्।
