काठमाडौं – २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार विहिन भएका पीडितहरु अधिकारको माग राख्दै कार्तिक २० गतेदेखि संघर्षमा उत्रिए । उनीहरुको माग थियो- गतवर्ष २०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदिप यादव सहित आयोजनाले गरेको सहमति पालना गर्नुपर्ने ।
कार्तिक २२ गते हेलम्बुबाट खानेपानी मन्त्रालयको वार्ताको टेवलमा बसेका बाढी पीडित संघर्ष समितिको मागहरुको खासै सुनुवाई भएन । पटक-पटक वार्ता र छलफलका लागि बाढीपीडित, ७ वर्षदेखि जग्गा भाडा नपाएका जग्गाधनी र मन्त्रिपरिषदले निर्णय गरेर कार्यान्वयन नभएको लोकल भेन्गर्सहरु र सुपवाला समितिका प्रतिनिधि सहमति खोज्न र न्याय पाउने आशामा जुटे । कार्तिक २५ गते एकाएक भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले मन्त्रालयको सभाहलमा बाढीपीडितलाई मागहरु पूरा गरिदिने भन्दै डाके ।
बाढीपीडितको मागहरु भनेर सकिनसक्दै उनी एकाएक रिसले चुर हुदै बाढी पीडितमाथी खनिए । बाढीपीडित भन्दै थिए- विगतमा हाम्रो घरजग्गाको नापजाँच गरि एकिन विवरण तयार गरि क्षतिपूर्ति दिने, आयोजनाको मुख्य प्रवेश मार्गसम्म पुग्ने बाटो कालोपत्रे हुनुपर्ने । तर एकाएक कुलमान राताराता आँखा लगाउदै पुर्पुरोमा हात लगाउदै रन्थनिरहेका थिए । बाढी पीडित मोदनाथ भण्डारी आफ्नै खेत लगेको आफ्नो दु:ख बताउदै थिए- कुलमान रिसाउदै भने – तपाई धेरै बोल्दै हुनुहुन्छ ‘म पनि कुरा बुझ्छु नि ! को मान्छे कहाँबाट सञ्चालित भैइराखेको भनेर’।
जेनजी आन्दोलनबाट र जनप्रिय नेताको छवि बनाएका कुलमानको एकाएक रौद्र रुप देखेपछि भण्डारी रोकिए । कुलमान अझै बाढीपीडितहरुसँग रिसाउदै भने- मेरो कारणले बाढी आएको हो र ?
४ बर्षदेखि बाढीका कारण घरवार विहिन एवं भएका एक टुक्रा पनि खेत नराखी बाढीले लगेर राहतका लागि धेरै ठाउँमा भौतारिएका भण्डारी निकै निराश देखिए । उनले भने-हामी हाम्रो माग राख्न आएको हो मन्त्रीज्यू, ४ दिनदेखि यही सिंहदरबारमा घुमिरहेका छौं । तपाईले अझै परिचालित भन्नुहुन्छ ? भन्दै रिसाउदै थचक्क बसे । कुलमान राता राता आँखा पार्दै जवाफ दिदै थिए ।
मन्त्री कुलमानले परिचालित भनेपछि हेलम्बु-४ का बाढी पीडित एवं संघर्ष समितिका अगुवा शिवप्रसाद लामिछानेले पनि निकै दु:ख लागेको बताए । हामी आफ्नो माग र अधिकारको लागि खानेपानी मन्त्रालयमा आएर वार्ता गरिरहेका थियौं तर भौतिक मन्त्रीले सडकको काम गर्ने भन्दै बोलाएर छलफल गर्दैगर्दा हाम्रो माग सुन्नु त कता हो कता ! उल्टै परिचालित हौं भनेर हप्कीदप्की गर्नु आफूहरुमाथि ठुलो अन्याय भएको बताए ।
उनले भने- “म ७१ बर्षको भएँ । प्रेसर र सुगरको दबाइ खाइरहेपनि बाढी पीडितका लागि केही हुन्छ कि भनेर दौडिरहेको छु । तर हाम्रो माग राख्दा मन्त्री कुलमान घिसीङले राहत र मलम लगाउलान भन्ने आशा थियो । बाहिर देखिए र बोलेजस्तो होइन रहेछन्, हप्कीदप्की गर्ने, रिसाउलु पाराको हुनुहुदो रहेछ । हामी दुखमा परेको मान्छेलाई को बाट परिचालित भनेर उफ्रिए, हामीलाई कसले परिचालन गर्नु र ? बाढीबाट पीडित हो, न्याय दिनुस् भनें” ।
बाढी पीडितहरुमध्ये अर्जुन भण्डारीले कुलमान समक्ष आफ्नो कुरा राख्दै भने- विगतमा भएको सहमति पालना भएन । तपाईले पनि गर्छु त भन्नुहुन्छ, कसरी विश्वास गर्नु ? भन्ने के भ्याएका थिए, कुलमानले तपाई यहाँ के गर्न आएको ? विश्वास छैन भने जानुस् भन्दै हकारे ।
रातको करिब १० बज्दै थियो । बाढी पीडितहरु कुनै न कुनै सहमति होस् र विगत ४ बर्षदेखि पीडित भएकोले केही माग पूरा हुने विश्वासमा मन्त्रालयका सचिव, कर्मचारी र मन्त्रीहरुसँग सवालजवाफ गरिरहेका थिए । यत्तिकैमा अर्का बाढीपीडित रमेशराज भण्डारीले भने- हामी माग्न आएको होइन, अधिकारको लागि आएको हो । पानी पठाए वापत हामीलाई कुनै न कुनै रुपमा सामाजिक न्यायको लागि भएपनि लेवि वा कुनै शुल्क त दिनुपर्यो नि । कि राजधानीवासीलाई निशुल्क पानी खुवाउनुपर्यो । यति के भन्न भ्याएका थिए- कुलमान जंगिदै तपाईको नाम के हो रे ? भन्दै प्रश्न गरे । उनले म रमेशराज भनिनसक्दै कुलमानले थर्काउदै भने- निशुल्क कहाँ हुन्छ ? तपाईहरुलाई के चाहियो ? लेवि सेवि अहिले हुदैन, कानून बनेपछि हुन्छ ।
२०७७ सालदेखि निरन्तर हिउँद याममा दैनिक २२ करोड लिटरसम्म खानेपानी आइरहेको छ । तर अहिलेसम्म खानेपानी परिपूरण लेवि निर्धारण नहुदाँ पानी विक्रि वापतको १ रुपैयाँ पनि रकम प्रभावित क्षेत्रका वासिन्दाले पाउन सकेका छैनन । यही विषयमा समेत उनीहरुले तत्काल लेवि निर्धारण गर्नुपर्ने माग गर्दै आएका थिए ।
वार्ता टोलिमा रहेर पीडितको पक्षमा आवाज उठाइरहेका विष्णु खड्काले मन्त्रीसँग तपाईमाथी अविश्वास होइन, विश्वास भएरै आएको हो । तर विश्वास गर्नका लागि ठोस कार्ययोजना अनुसार- कुन मितिमा, कसले, के गर्ने ? भन्ने एकिन गरेर मात्रै सहमति गर्नुपर्ने बताए । तर हतारो र तत्काल जवर्जस्ती भएपनि सहमति गराउने पक्षमा रहेका कुलमानले तपाईको बोली धेरै सुने, मागहरु प्रक्रियासंगत पूरा हुने भन्दै हप्काउन खोजे ।
तर बाढी पीडित र स्थानीय लोकल भेन्डर्स, भाडावालाहरु टसमस भएनन् । जवर्जस्ती र धम्काउने हो भने हामी अध्ययन गरेर भोलिमात्रै सहमति गर्छौ भने शिवप्रसाद लामिछाने बसेको कुर्सीबाट उठेपछि उनी अलि हच्चिए । उनले ल ल के के राख्ने भन्नु न त ! सहमति आजै गरौं ।
कुलमानले भने- आज सहमति गरौं । भोलि म आफैं मेलम्ची विहानै जान्छु । पानी राजधानी पनि पठाओ । तर बाढी पीडितहरुले भने- हामीले भनेको सहमति नभई पानी खोल्न सक्दैनौं । तपाई नजानुस् ।
फेरि कुलमान रिसाए । उनले भने- ल के के छ ? सबै राख्नुस् । म पूरा गर्न लगाउँछु । यसो भनिरहदाँ खानेपानी मन्त्रालयका सह-सचिव रुद्रप्रसाद पण्डितले कुलमानलाई जवाफ फर्काए । अर्काको मन्त्रालयको कुरा छ, अर्थ र प्रधानमन्त्री कार्यालयको जिम्मा हामीले यहाँ कसरी लिनु हजुर ? यति बोलिनसक्दै कुलमान फेरि जंगिए- तपाई आफ्नो काम गर्नुस् न । अरु किन टाउको दुखाउनुहुन्छ ।
